हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम

Feb Wed 2020 07:53:37

1000 views

हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् ।

बैंकको बुधबार सम्पन्न २७ औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।

त्यस्तै सभाबाट भने संस्थापक सेयरधनीका तर्फबाट पाँचजना सञ्चालक निर्विरोध चयन भएका छन् । सभाले सुनिलबहादुर थापा, आशिष शर्मा, फैसल लालानी, प्रचण्डबहादुर श्रेष्ठ र तुलसीप्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनका लागि यी पाँचजनाको मात्रै उम्मेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

बैंकमा सर्वसाधारणको १५ प्रतिशतमात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिइसकेको छ ।