ब्रोकर शाखा ठेक्का लगाउँदाको परिणाम: मोफसलको कारोबार पनि अब केन्द्रबाटै

Feb Wed 2020 07:58:16

991 views

ब्रोकर शाखा ठेक्का लगाउँदाको परिणाम: मोफसलको कारोबार पनि अब केन्द्रबाटै

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले  धितोपत्र दलाल व्यवसायी(ब्रोकर)को शाखा कार्यालयको न्यूनतम पूर्वाधारको मापदण्डमा संसोधन गरेको छ । 

बोर्डले धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)तेस्रो संसोधन नियमावली, २०७६ मा मूल नियमावलीको अनुसूची ७ मा संसोधन गरी बुँदा नम्बर ३ थप्दै ब्रोकर कम्पनीको शाखा कार्यालयका लागि आवश्यक न्यूनतम पूर्वाधारको मापदण्डमा संसोधन गरेको हो । 

संसोधनपछि अब ब्रोकर कार्यालयको शाखाको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने र वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टड एकाउन्टेसी गरेको व्यक्ति प्रमुख र परिपालन अधिकृत तथा सूचना प्रविधिसहित कम्तीमा ३ जना कर्मचारी हुनुपर्ने व्यवस्था गरेको छ । 

यस्तै शाखा कार्यालयमा कम्तीमा २ थान कम्प्युटर र त्यसका लागि ब्याकअप पावरको प्रबन्ध हुनुपर्ने बताइएको छ । यसअघि ब्रोकर शाखा कार्यालयको क्षेत्रफल कम्तीमा एक हजार वर्गफिट हुनैपर्ने र कम्तीमा ५ जना कर्मचारी हुनुपर्ने व्यवस्था थियो भने कम्तीमा ३ थान कम्प्युटरको पूर्वाधार खडा गरेको हुनुुपर्ने भनिएको थियो । 

बोर्डले शाखा कार्यालयबाट हुने कारोबारलाई अनिवार्य रुपमा केन्द्रीय कार्यालयमार्फत हुने व्यवस्था गरेको छ । यसअघि केही ब्रोकर कम्पनीहरुले   मोफसलमा शाखा बिस्तार गर्दा ठेक्का प्रणालीमार्फत दिइएको बोर्डले पत्ता लगाएपछि शाखा कार्यालयलाई यसरी कडाई गरिएको हो । 

नेप्सेले पनि मोफसलमा रहेका ब्रोकर शाखा कार्यालयहरुलाई छुट्टै ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस)दिइएकोमा अब उप्रान्त फागुन १ गतेदेखि मुख्य कार्यालय काठमाण्डौबाट नै कारोबार म्याचिङ हुने व्यवस्था प्रारम्भ गर्न लागेको छ ।

धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको स्वीकृति लिई ब्रोकर कम्पनीका शाखा कार्यालयहरुका न्यूनतम पूर्वाधारमा संसोधन तथा थप गरेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखामार्फत सेयर किनबेच कार्य भइरहेको छ ।

केही समयअघि ब्रोकर कम्पनीहरुले सातवटै प्रदेशमा २०० बढी शाखा विस्तारका लागि बोर्डमा आवेदन दिइसकेका छन् । 

बोर्डले शाखा कार्यालयको पूर्वाधारमा थप खुकुलो बनाउने कदमबाट सकारात्मक स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाट हाल सञ्चालनमा आइरहेका उपत्यका बाहिरका शाखा कार्यालयहरु अब नाफामा जाने बताउँछन् । हाल देशभरका मुख्य शहरहरुमा मात्र केन्द्रित ब्रोकर शाखा कार्यालयहरु सम्भाव्य नयाँ साना शहरहरुमा जान सहज भएको उनको ठम्याइ छ । 

नगरपालिका तथा गाउँपालिकामा पनि दोस्रो बजार विस्तार गर्न आधिकारिक प्रतिनिधिको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । धितोपत्र कारोबार व्यवस्थाका लागि आधिकारिक प्रतिनिधिको व्यवस्था भए पूँजी बजारको विकास तथा विस्तार व्यापक हुने उनको दाबीसमेत छ ।