शेयर बजारमा उछाल, नेप्से २००० बिन्दुमा पुग्ने विश्लेषण

Feb Tue 2020 03:20:54

शेयर बजारमा उछाल, नेप्से २००० बिन्दुमा पुग्ने विश्लेषण

शेयर बजारमा हराभरा छाएको छ । मंगलबार कारोबार खुलेलगत्तै दोहोरो अंकले घटेको बजार एकघण्टापछि ४३ अंकले माथि उक्लियो र १५४५.१९ को विन्दूमा पुगेर बन्द भयो । 

करिब ३ अर्बको सेयर कारोबार भएको यो दिन एकदर्जन बढी कम्पनीका लगानीकर्ताको सम्पत्ति ह्वात्तै बढ्यो । 

नेप्से चाँडै २००० को विन्दूमा पुग्ने विश्लेषकहरुले बताइरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन, घट्दै गएको बैंक ब्याजदर, मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट बजारका लागि सरप्राइज प्याकेज आउने विश्वास, तरलताको सहज अवस्था, बजार सुधारका लागि धितोपत्र बोर्डले गरेको प्रयास, नेप्सेको अनलाइन प्रणालीप्रति बढ्दो सहभागिता लगायतका कारण बजार दिनप्रतिदिन नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढेको हो । 

बजारको तीव्र बढोत्तरी र कारोबार रकमको साथले बढोत्तरीको यो यात्रा अझै माथिसम्म पुग्ने देखिने विश्लेषकहरु दाबी गर्छन् । 

बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्सेका जिम्मेवार अधिकारीहरुले विभिन्न औपचारिक र अनौपचारिक फोरमहरुमा नेप्से चाँडै २००० को विन्दूमा पुग्छ भन्ने विश्लेषण गरिरहेका स्रोतहरु बताउँछन् ।