सेयर बजारको भविष्य सुनौलो छ, लगानीकर्ता आत्तिनुपर्दैन : चन्द्र साउद -जीएम, नेप्से

Mar Mon 2020 06:54:27

868 views

सेयर बजारको भविष्य सुनौलो छ, लगानीकर्ता आत्तिनुपर्दैन : चन्द्र साउद -जीएम, नेप्से

सेयर बजारमा पछिल्लो समय निकै ठूलो उतारचढाव देखिएको छ । मानिसहरु यो समयमा निकै मात्तिएका र आत्तिएका छन् । मलाई भने यो खासै अस्वाभाविक लागेन । सामान्य नै हो । बिदेशमा पनि यस्तो भइरहन्छ ।


नेपाली सेयर बजारमा पछिल्लो समय ‘इन्भेष्टर’ भन्दा ‘ट्रेडर’ हावी भएको हुँदा यस्ता उतारचढाव देखिएको हो । एकै दिनमा पनि धेरै उतारचढाव देखिएको छ । अब इन्भेष्टर हावी हुँदा बजार बिस्तारै स्थिरता तर्फ आउला ।


इन्भेष्टरको लागि नेपाली सेयर बजार धेरै नाफामुलक छ । नेपाली सेयर बजारमा बिश्वका अन्य सेयर बजार भन्दा धेरै ‘रिर्टन’ छ । उदाहरणको लागि नबिल बैंकमा २० वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्नेको लगानी अहिले ४० लाख भइसकेको छ । यती रिर्टन कुन क्षेत्रमा लगानी गर्दा पाइन्छ ?


सामान्य लगानीकर्ताहरुमा के समस्या हुन्छ भने लगानी गर्ने वित्तिकै नाफा चाहिहाल्छ । धेरै नाफाको लागि त धेरै जोखिम मोल्नुपर्छ ।


अनी अर्को कुरा, सेयर बजारबाट पैसा कमाउनका लागि सेयर मुल्य नै बढ्नुपर्छ भन्ने पनि छैन । राम्रो कम्पनी छानेर लगानी गरे कम्पनीले दिने लाभांशले पनि राम्रो रिर्टन दिन्छ । मुल्य पनि बढे त झन् सुनमा सुगन्ध भइहाल्यो ।


मैले नेप्से परिसूचक ११०० को आसपास हुँदा सार्वजनिक रुपमा भनेको पनि हो अहिले लगानी गर्यो भने राम्रो नाफा कमाउने अवसर छ भनेर ।


नेपाली सेयर बजार धेरै ढंगले अब अगाडी बढ्नका लागि संघारमा उभिएको छ । कारोबार रकमलाई नै हेर्नुस न । दैनिक ५ अर्ब पुग्न लागिसक्यो । यो सब अनलाइन ट्रेडिङको शुरुवातले भएको हो । हालै सेयर बजार राम्रो बढेको बेला ३२ हजारवटा दैनिक कारोबार सम्म भए । अहिले पनि दैनिक २० हजार भन्दा बढि कारोबार भइरहका छन् । यो त सब शुरुवात मात्र हो ।


अब यहाँ अहिले ‘नेट’ पद्दती शुरु भएको छ । यसले पनि कारोबार रकमलाई बढोत्तरी गरेको हो । पहिले ब्राेकरले १० करोडको नयाँ सेयर किनेर ८ करोडको सेयर बेच्नु पर्दा पनि पहिले १० करोड रुपैयाँ नै जोहो गर्नु पर्दथ्यो । अहिले यो पद्दतीको विकासले त्यस्तो छैन । १० करोडको सेयर किनेर ८ करोडको बेचेकाे हो भने २ करोड रुपैयाँमात्र जोहो गरे पुग्ने भयो । यसले दैनिक कारोबार रकम बढायो ।


अनी अर्को कुरा, अहिले भइरहेको कुल कारोबारको ३५/४० प्रतिशत मोफसलबाट भइरहेको छ । अब पुतलीसडकमा मात्र सिमित छैन नेपालको सेयर बजार । यो नेपाली सेयर बजारले अब अर्को चरणको छलाङ लगाउन लागेको संकेत हो की होइन ?


नेपाली सेयर बजारमा कम्पनीहरु सिमित छन् । बजारको अधिकांश हिस्सा बैंक तथा बीमा कम्पनीहरुले ओगटेका छन् । उनीहरुले आफ्नो बढाइएको पुँजी भर्खरै पुर्याइसकेका छन् । नयाँ कम्पनीहरु अब यी दुवै क्षेत्रमा सामान्य ढंगले आउन सक्ने कुरा भएन । सेयर संख्या सिमित छ ।


अनी यो पृष्ठभुमिमा जब यसरी लगानीकर्ताहरु बिस्तार भइरहेका छन्, त्यस्तो अवस्थामा बजार नबढ्नुपर्ने कारण केही पनि देख्दिन म ।


स्टक डिलरको लाइसेन्सको कार्यबिधि तयार हुन लागेको छ । यस्तो कार्यबिधि तयार भएपछि बजार थप विकसित र परिष्कृत हुँदै जान्छ । यसले बजारलाई सन्तुलित बनाउँछ । ‘ब्रोकर फि’ जोगाउने र ठूलो ‘भोल्युम’मा कारोबार गर्ने राम्रो उपाय हो यो । नागरिक लगानी कोषले पनि यसका लागि कम्पनी समेत दर्ता गरिसकेको अवस्था छ । त्यसपछि बजारमा अहिले जस्तो अत्याधिक उतारचढाव नहोला ।


अब चाँडै डिबेन्चर र कमोडीटीको कारोबार पनि शुरु हुन्छ । यसको मतलब के हो भने नेपाली पुँजी बजारले अब प्राबिधिक, लगानीकर्ताको संख्या, कारोबार रकम इत्यादी सबै ढंगले अब छलाङ लगाउने नै हो । हाम्रो लागि अगाडी बढ्नका लागि अझै धेरै ठाउँ छ । तर, पछाडी फर्कने ठाउँ नै छैन । हामी त अहिले पिँधमा पो छौं ।


- Source : https://www.chanakyapost.com/