कोरोनाको रोकथाम, नियन्त्रण र उपचार कोषमा १ अर्ब ५९ करोड लाख जम्मा , कसले कति सहयोग गरे

Apr Fri 2020 10:02:21

792 views

कोरोनाको रोकथाम, नियन्त्रण र उपचार कोषमा १ अर्ब ५९ करोड लाख जम्मा , कसले कति सहयोग गरे

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग जुटाउन भन्दै गठन भएको कोषमा डेढ अर्बभन्दा बढी सहयोग जम्मा भएको छ ।  कोषमा आजको मितिसम्म १ अर्ब ५९ करोड लाख जम्मा भएको हो । 

उक्त कोषमा सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । निगमले ५० करोड रुपैंयाको चेक प्रधामन्त्री कार्यालयको खातामा जम्मा गरेको हो । 

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैंया जम्मा गर्दा नेपाल स्टक एक्सचेञ्जले ३ करोड ५१ लाख रुपैंया, नेपाल धितोपत्र बोर्ड, कर्मचारी सञ्चयकोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३र३ करोड रुपैंया र नागरिक लगानी कोषले २ करोड रुपैंया सहयोग गरेका छन् । 

नेपाल पुनर्बीमा कम्पनीले १ करोड १ लाख, एनएमबि बैंकले १ करोड ५१ लाख रुपैंया, प्रभु बैंकले १ करोड १ लाख रुपैंया, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैंया, सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ३५ लाख रुपैंया, नेपाल फ्रेइट एण्ड फर्वाडर्स एशोसिएसनले ७ लाख रुपैंया जम्मा गरेका छन् । 

सिटिजन्स बैंकले १ लाख रुपैंया, विश्वम्भर घिमिरेले १ लाख रुपैंया, मीना बस्नेत र माधव कुमार बस्नेतको संयुक्त नाममा ५० हजार रुपैंया सहयोग रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 



त्यसबाहेक २ लाख ८२ हजार ९ सय १२ रुपैंया जम्मा भएको छ । त्यस्तो रकम जम्मा गर्नेको नाम नखुलेको समेत कार्यालयले जनाएको छ ।

अहिले त्यो कोषमा सहयोगको ओइरो लागेको छ । बिहीबार मात्रै २२ वटा वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैंया सहयोग गर्ने घोषणा गरिसकेका छन् ।