राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त, को हुन् अधिकारी ?

Apr Mon 2020 07:08:44

1012 views

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त, को हुन् अधिकारी ?

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा चाटर्ड एकाउन्टेन महाप्रसाद अधिकारी नियुक्त भएका छन् । 

कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । 

को हुन् अधिकारी ?

नवनियुक्त गभर्नर अधिकारी खोटाङमा  जन्मिएका हुन् । सन् १९८२ मा खोटाङकै सिमपानी माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उर्तीण गरेका उनले काठमाडौंमा आएर उच्च शिक्षा हासिल गरेका हुन् । उनले ललितपुरको लगनखेलस्थित नमुना मछिन्द्र क्याम्पसबाट वाणिज्यशास्त्रमा प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका छन् भने नेपाल कमर्श क्याम्पस मीनभवनबाट व्यवस्थापन संकायमै स्नातक तहको उपाधि हासिल गरेका छन् । स्नातक सकिएपछि उनी भारतमा गएर ४ वर्ष चार्टर्ड एकाउन्टेन्सी अध्ययन पछि सन् १९९३ उनी नेपाल फर्किएका थिए ।

त्यसपछि सन् १९९४ मार्चमा उनी नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन् । नेपाल राष्ट्र बैंकमा उपनिर्देशक स्तरमा सेवा सुरु गरेका उनले नेपाल राष्ट्र बैंकमा करिब २२ वर्ष काम गरे ।  उनले ५ वर्ष ३ महिना उपनिर्देशक, करिब ९ वर्ष ६ महिना निर्देशक, २ वर्ष ३ महिना कार्यकारी निर्देशक र ५ वर्ष डेपुटी गभर्नरको रुपमा कार्य सम्पादन गरेका छन् ।

यसअघिको गभर्नर सिफारिस समितिमा परेका अधिकारी त्यति बेला डा. चिरञ्जीवी नेपालसँग गभर्नरको प्रतिस्पर्धामा पराजित भएका थिए । यतिबेला सुशील कोइराला नेतृत्वको सरकार थियो । त् डा.नेपालसँग गभर्नरको प्रतिस्पर्धामा पराजित भएका उनी राष्ट्र बैंकबाट बाहिरिएपछि नेपाल पुनर्निमार्ण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भए । राजनीतिक परिवर्तनसँगै उनलाई पुनर्निमाण प्राधिकरण छाड्न बाध्य बनाइएको थियो । तर, त्यसको केही समय पछि नै उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए ।