लकडाउनमा थप कडाई : बैंकका कर्मचारीलाई पनि परिचयपत्रले मात्र सवारी चलाउन नपाइने

Apr Tue 2020 07:10:53

1239 views

लकडाउनमा थप कडाई : बैंकका कर्मचारीलाई पनि परिचयपत्रले मात्र सवारी चलाउन नपाइने

अब सम्बन्धित बैंकले सो कर्मचारीलाई काम गर्नको लागि बोलाएको पत्र र परिचयपत्र भएपछि मात्र बैंकका कर्मचारी हिँड्न पाउनेछन् ।

सरकारले बैशाख १६ गते मंगलबारदेखि लकडाउनमा थप कडाई गरेको छ ।  थप कडाईका कारण बैंकका कर्मचारीले मंगलबार सास्ती खेप्नुपर्यो । सडकमा नीजि सवारी साधनले लकडाउन उल्लंघन गरेको भन्दै गृहमन्त्रालयले लकडाउनलाई कडाई गर्न निर्देशन दिएपछि मारमा बैंकका कर्मचारी परेका हुन् । सधैजसो बैंकको परिचयपत्रले कार्यालय जान पाएका कर्मचारीहरु बैशाख १६ गते मंगलबार भने सुरक्षाकर्मीले सडकमै रोके । कार्यालय जान सास्ती पाएको गुनासो बैंक हुदै बैंकर्स संघसम्म पुगेपछि बैंर्कस संघका अध्यक्ष भुवन दाहाले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई जानकारी गराए ।

कार्यकारी निर्देशक ढकालले प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रमुखलाई फोन गरेर बैंकले खटाएको पत्र साथमा रहेका कर्मचारीलाई रोक नगर्न आग्रह गरेपछि ट्राफिक प्रमुख भीम ढकालले उपत्यकाभित्रका ट्राफिकलाई सर्कुलर गरे । 

अब सम्बन्धित बैंकका कर्मचारीले बैंकबाट कार्यालय आउनका लागि लेखिएको पत्र साथमै बोकेर हिँडेको खण्डमा मात्र सवारी चलाएर कार्यालय जान पाइनेछ, अन्यथा प्रहरीले पक्राउ गर्नेछ ।