राष्ट्र बैंकको राहत प्याकेज : ब्याजमा २ प्रतिशत छुट, ७ दिनभित्रै ऋण , कर्जाको ब्याजदर ५ % कायम, ५० अर्ब पूँजी एकैपटक लगानी गर्न पाउने

Apr Tue 2020 08:21:14

1099 views

राष्ट्र बैंकको राहत प्याकेज :  ब्याजमा २ प्रतिशत छुट, ७ दिनभित्रै ऋण , कर्जाको ब्याजदर ५ % कायम, ५० अर्ब पूँजी एकैपटक लगानी गर्न पाउने

नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीका लागि राहत प्याकेज ल्याएको छ ।  राष्ट्र बैंकले व्यवसायीलाई ब्याजमा २ प्रतिशत छुट दिने र बैंक तथा बित्त संस्थालाई ५० अर्ब पूँजी एकैपटक लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीका लागि २ प्रतिशत ब्याजदर घटाउन निर्देशन दिएको हो । 

राष्ट्र बैंकले जारी गरेको सकुर्लर अनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरुले २ प्रतिशतका दरले ब्याजदर घटाउनु पर्नेछ ।


त्यसैगरी ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन पाइने छैन ।

चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ ।

१५ लाख रुपैयाँसम्म ऋण लिने साना ऋणीहरुका लागि राष्ट्र बैंकहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउने र बैंकहरुले त्यस्तो कर्जामा ५ प्रतिशतभन्दा बढी ब्याजदर असुल गर्न पाउने छैनन ।

विदेशी मुद्राको रुपमा रहेको निक्षेपलाई पनि सीसीडीमा गणना गर्न मिल्ने व्यवस्था गरेको छ ।

एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने व्यवस्था

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थप गर्ने नीतिगत व्यवस्था गरेको छ।

राष्ट्र बैंकले अबदेखि बैंकहरुले एक बर्ष भुक्तानी अबधि रहेका २ वा सो भन्दा बढी अवधिका मुद्दति निक्षेपलाई शतप्रतिशत लगानी गर्न पाउने सुविधा दिएको छ । त्यसैगरी, बैंकहरुमा मुद्दति निक्षेपमा रहेको विदेशी मुद्रालाई पनि स्रोत परिचालन सीसीडी मा गणना गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर ३ प्रतिशतमा झारेको छ । सीआरआर घटाउँदा बैंकिङ प्रणालीमा अर्बौं रकम लगानी योग्य पुँजी थपिने भएको छ ।

त्यसैगरी राष्ट्र बैंकले कर्मचारीका तालिमको रकम अनिवार्य रुपमा खर्च गर्न पर्ने व्यवस्थालाई कटौती गर्न बैंकहरुलाई निर्देशन गरेको छ ।

त्यस्तै कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ । त्यसैगरी कर्जाको ब्याजदर ५ प्रतिशत कायम गर्नुपर्ने उल्लेख छ ।