एडीबीले नेपाललाई २५० मिलियन अमेरिकी डलर सहयोग गर्ने, अर्थमन्त्री डा. युवराज खतिवडा र एडीबीका अध्यक्ष मासाचुगु बीच टेलिफोन वार्ता

Apr Wed 2020 05:14:15

847 views

एडीबीले नेपाललाई २५० मिलियन अमेरिकी डलर सहयोग गर्ने, अर्थमन्त्री डा. युवराज खतिवडा र एडीबीका अध्यक्ष मासाचुगु बीच टेलिफोन वार्ता

अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु बीच नेपालको विकासमा थप सहयोग गर्नेबारेमा द्धिपक्षीय वार्ता भएको छ । 

वार्तामा कोभिड– १९  का कारण परेको असरबाट नेपालको अर्थतन्त्रलाई जोगाउन एडीबीले  २५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

टेलिफोन वार्तामा अर्थमन्त्री डा. खतिवडा र एडीबी बैंकका अध्यक्ष बीच कोभिड – १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका  विषयमा छलफल भएको छ। 

अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउनु हुदै बैंकले ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसा समेत गर्नु भएको छ। 

 अर्थमन्त्रीले यस सन्दर्भमा स्थानीय तहहरु बीच अन्तरआवद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि गर्नुभयो।

अर्थमन्त्रीले कोभिड –१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउनु हुदै आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गर्नुभयो । साथै कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक  कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । 

एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड –१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड –१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवम् निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।