बैंकिङ क्षेत्रका करार र आउट सोर्सिङमा काम गर्ने हजारौ कर्मचारीको रोजगारी गुम्दै र स्थायी कर्मचारीको पनि सेवा सुबिधा कटौति हुने

May Fri 2020 03:08:50

1033 views

बैंकिङ क्षेत्रका करार र आउट सोर्सिङमा काम गर्ने हजारौ कर्मचारीको रोजगारी गुम्दै र स्थायी कर्मचारीको पनि सेवा सुबिधा कटौति हुने

कोरोना रोकथाम तथा उपचारका लागि सरकारले गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकिङ प्रणालीमा ठूलो असर परेको छ ।

कोरोना भाइरसका कारण बैंक तथा वित्तीय संस्थाहरुमा करार र आउट सोर्सिङमा काम गरिरहेका हजारौं कामदारले रोजगारी गुमाउने भएका छन् ।

स्थायी कर्मचारीभन्दा न्यून सेवा सुविधा पाएर बढी खटिने ती कर्मचारीको जागिर कोरोना कहरले गुम्ने भएको छ । आर्थिक गतिविधि घटेसँगै बैंकमा काम नै कम हुँदै गएकाले करारमा कार्यरत सम्झौता नविकरण नहुने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताएका छन् ।

अहिले बैंकिङ क्षेत्रमा करिब १ लाख कर्मचारी छन् । जसमध्ये करार र आउटसोर्सिङ गरेर करिब ३० प्रतिशत अर्थात् ३० हजार कर्मचारी छन् । 

राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । कुल कर्मचारीको संख्या ६८ हजार ४ सय बढी छ । जसमध्ये ३ हजार ४ सय बढी कर्मचारी करारमा राखिएका छन् ।

बैंकिङ कारोबार सम्बन्धी काम गर्ने कर्मचारी बाहेक बैंक वित्तीय संस्थामा सुरक्षा गार्ड, सरसफाई गर्ने र सवारी चालक आउट सोर्सिङ गरिएको हुन्छ ।

कोरोनाको कहरले करारका कर्मचारीको जागिर गुम्नेमात्र नभएर स्थायी कर्मचारीको सेवा सुविधा समेत कटौती हुने भएको छ । बैंकिङ क्षेत्रका कर्मचारीको पारिश्रमिकभन्दा बढी सेवा सुविधा बढी हुने गर्दछ । फिल्डमा नखटिएका कर्मचारीको अतिरिक्त सुविधा वापतको तलब कटौती हुने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।