कोरोनाले साउदी अर्थतन्त्र कमजोर भ्याट ३ गुणा बढ्यो, तेलको मूल्य पनि बढ्ने

May Mon 2020 01:21:58

878 views

कोरोनाले साउदी अर्थतन्त्र कमजोर भ्याट  ३ गुणा बढ्यो, तेलको मूल्य पनि बढ्ने

कोरोना भाइरसको संक्रमणका कारण  अर्थतन्त्र प्रभावित भएपछि सुधार गर्नका लागि साउदीले मूल्य अभिवृद्धि कर भ्याट तीन गुणाले बढाउने निर्णय गरेको छ ।


यससँगै सरकारले सरकारी कर्मचारीले पाउँदै आएको ‘कस्ट अफ लिविङ अलाउन्स’ पनि रोक्ने निर्णय गरेको छ । 


कोरोना भाइरसको कारण विश्वभर लागू भएको लकडाउनपछि तेलको मूल्यमा भारी गिरावट आउँदा साउदी अरबले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।



साउदीको सरकारी न्यूज एजेन्सीको रिपोर्ट अनुसार भ्याटको दर ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ । यो नयाँ दर जुलाई १ तारिखदेखि लागू हुनेछ ।


त्यहाँ सरकारको आम्दानीको तुलनामा खर्च बढी भएपछि यो घोषणा गरिएको हो । साथै अघिल्लो वर्षको तुलनामा पहिलो तीन महिना मै साउदी अरबको बजेट घाटा ९ अर्ब अमेरिकी डलर पुगेको छ ।


यसका पछाडि विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावट नै हो । वर्षको पहिलो त्रैमासमा तेलको मूल्य घट्यो र यसको असर साउदी अरबको अर्थ व्यवस्थामा भयो । तेलको मूल्य घटेका कारण राजस्वमा २२ प्रतिशतको गिरावट आएको छ ।