शेयर बजार बन्द गर्न बोर्डको निर्देशन, मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

May Thu 2020 07:03:03

768 views

शेयर बजार बन्द गर्न बोर्डको निर्देशन,  मंगलबार र बुधबारको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

मंगलबार र बुधबारको शेयर कारोबार के हुन्छ ?

लकडाउनका कारण खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डको निर्णयका आधारमा नै नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । 

बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

सेयर लगानीकर्ताहरुले लकडाउनकै बीच मंगलबार र बुधबार भएको सेयर कारोबार रद्ध गर्न माग गरेका छन् ।

लगानीकर्ताका चारवटा संगठनले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् । 

हाल संचालनमा रहेको अनलाईन प्रणालीमा व्यापक सुधार गरी सबै लगानीकर्ताहरूले उक्त प्रणालीमा सहभागी हुन सक्ने लगानीमैत्री वातावरण सिर्जना नगरी बजार संचालन गर्दा राज्यले चाहे अनुरूप राजश्व संकलन नहुने, बहुसंख्यक सरोकारवालाहरूको सहभागिता नहुने र लक्षित वर्गले यसबाट प्रतिफल पनि लिन नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा दाबी गरिएको छ । ‘शेयर बजारमा अन्यौल र अस्थिरता श्रृजना हुने र नियामक निकायको बजार संचालन सम्बन्धी निर्देशिकाका बुँदाहरूलाई पालना नगरी गरिएका कारोवारबाट कुनै उपलब्धि हासिल नभएको हुनाले आजैबाट शेयर बजार लकडाउन अवधिभर संचालन नहुने निर्णय भएकोमा सेवोन, नेप्से लगायत सरोकारवाला निकाय र यसमा सहयोग गर्नु हुने व्रोकर, आम लगानिकर्ता साथीहरुमा सबै संघ संगठनको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं।’ विज्ञप्तिमा भनिएको छ ।