बैंकहरु धमाधम कर्मचारीलाई हटाउने तयारीमा, कामदारलाई जागिरबाट नहटाउन राष्ट्र बैंकको यस्तो निर्देशन

May Sat 2020 09:26:27

1626 views

बैंकहरु धमाधम कर्मचारीलाई हटाउने तयारीमा, कामदारलाई जागिरबाट नहटाउन राष्ट्र बैंकको यस्तो निर्देशन

यो अबस्थामा बैंकिङ क्षेत्रबाट एक जनाले पनि रोजगारी गुमाउनु पर्ने अवस्था आउदैन  : गभर्नर 

कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशलाई लकडाउन गरेका कारण र राष्ट्र  बैंकले बैंकहरुलाई कोरोना प्रभावितलाई राहत दिएका कारण नाफामा असर पर्ने भन्दै केही बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कर्मचारी हटाइरहेका छन् भने केहीले हटाउने तयारी गरिरहेका छन्  । तर नेपाल राष्ट्र  बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको असर देखाएर बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी तथा कामदार हटाउन नपाउने बताएका छन् ।
यस्तो कठिन परिस्थितिमा बैंक तथा वित्तीय संस्थाजस्ता जिम्मेवार संस्थाले काम गरिरहेका व्यक्तिलाई मानवीय संवेदनशीलताका हिसाबले पनि जागिरबाट हटाएर बेरोजगार बनाउनु नहुने राष्ट्र  बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

बैंकहरुले कामदारलाई जागिरबाट निकाल्न थालेको अवस्थामा राष्ट्र  बैंकले केही न केही एक्सन लिने उनले जानकारी दिए ।

अहिले बैंकिङ क्षेत्रमा करिब १ लाख कर्मचारी छन् । जसमध्ये करार र आउटसोर्सिङ गरेर करिब ३० प्रतिशत अर्थात् ३० हजार कर्मचारी छन् ।

करार र आउटसोर्सिङमा कार्यरत कामदारमध्येबाट करिब ३० प्रतिशत कटौति हुनसक्ने बैंकरहरु बताउँछन् । यसरी हेर्दा बैंकिङ प्राणलीबाट १० हजारले जागिर गुमाउने देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हाल नेपालमा १ सय ६२ बैंक तथा वित्तीय संस्था र त्यसका ९ हजार ६ सय ९२ शाखा कार्यलय छन् । कुल कर्मचारीको संख्या ६८ हजार ४ सय बढी छ । जसमध्ये ४ हजारको हाराहारीमा करारमा राखिएका कर्मचारी छन् ।