आर्थिक गतिविधि सुचारु गर्न, लकडाउन खुकुलो बनाउने - प्रधानमन्त्री के.पी. ओली

May Mon 2020 06:39:23

1288 views

आर्थिक गतिविधि सुचारु गर्न, लकडाउन खुकुलो बनाउने - प्रधानमन्त्री के.पी. ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् ।

प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित आर्थिक र सामाजिक गतिविधिको उपाय अपनाइएने बताएका हुन् ।

कोरोना महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजना लगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने प्रयास र प्रयोग सफल भएको बताए । कोरोनालाई छल्दै विकासका काम अगाडि बढाउन सकिन्छ भन्ने पुष्टि भएको उल्लेख गर्दै अब नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने बताएका हुन् ।

दैनिक आवश्यक वस्तुहरुको आपूर्ति सहज तुल्याउने र आन्तरिक उत्पादन बृद्धिका लागि कच्चा पदार्थदेखि उत्पादित वस्तुको बजारसम्मको शृङ्खला अवरुद्ध हुन नदिइने बताए । आवश्यक वस्तुहरुको आन्तरिक ढुवानी र आयातरनिर्यात सहज बनाइने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले शैक्षिक संस्थाको पनि दुरशिक्षा र अनलाइन शिक्षाबाट सञ्चालन गरिने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिने उनको भनाई थियो ।