२ महिनामै कोरोना बीमा पोलिसी बन्द हुने अबस्थामा, कारण यस्तो छ

Jun Wed 2020 12:46:54

462 views

२ महिनामै कोरोना बीमा पोलिसी बन्द हुने अबस्थामा, कारण यस्तो छ

काठमाडौं । नेपालमा बैसाख ४ गतेबाट शुरु भएको कोरोना बीमा पोलेसी २ महिना नबित्दै बन्द हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमित हुन थालेपछि बीमा कम्पनीहरुले भुक्तानी गर्न नसक्ने देखिएको छ । 

बीमा समिति ले बीमा लेख जारी गर्दा नेपालमा १६ जना कोरोनाबाट संक्रमित थिए । हालसम्म नेपालमा सो संख्या बढेर दुई हजार १ सय नाघिसकेको छ ।

संक्रमितको संख्या बढ्दै गएको हुँदा भविष्यमा कम्पनीहरुले दावीको भार थेग्न नसक्ने देखिएको हो ।

कोरोना बीमाको शुल्क न्यून तोकिएको छ भने बीमा गराउनेको संख्या पनि दिनहुँ बढिरहेकोले बीमा कम्पनीहरु आत्तिन थालेका हुन् ।

महामारीको बीमा पोलेसीलाई सँधै सुचारु गर्नु पर्ने नियम नभएको हुँदा बीमा गरिरहेका कम्पनीहरुले समितिसँग सम्वन्य गरी बन्द पनि गर्न सक्नेछन् ।

 बीमा समितिले सरकारसँग समन्वय गरेर कोरोना बीमा पोलेसीको खाका परिवर्तन गर्ने या अन्य व्यवस्था गर्नेतर्फ पहल थाल्न बीमा कम्पनीहरुले सुझाएका छन् ।

कोरोना बीमा अन्तर्गत २ प्रकारको कोरोना बीमालेख जारी भएको छ । जसमा ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी २ प्रकारको बीमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ । जसअन्तर्गत हालसम्म २ लाख ८५ हजार ९ सय ४७ जनाले १५ करोड ६३ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ बराबरको कोरोना बीमा गराइसकेका छन् ।

कोरोना बीमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले गराईरहेका छन् । समितिको निर्देशन अनुसार बीमा पूल अन्तर्गत कम्पनीहरुले गराएको कोरोना बीमाको २० प्रतिशत जोखिम नेपाल पुनरबीमाले कम्पनीले बहन गर्छ । बाँकी ८० प्रतिशत जोखिमको भार २० वटा निर्जीवन बीमा कम्पनीहरुले लिनु पर्छ । जसमा प्रत्येक कम्पनीलाई १ बीमा लेख बराबर ४ प्रतिशत जोखिमको भार पर्न जान्छ ।