६ चरणमा लकडाउन यसरी खुल्दैछ , बैंकका शाखाहरु पनि सबै खुल्ने

Jun Sat 2020 04:18:03

1472 views

६ चरणमा लकडाउन यसरी खुल्दैछ , बैंकका  शाखाहरु पनि सबै खुल्ने

काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

आइतबारदेखि बैंकका सबै शाखा खुल्ने

लकडाउन लम्बिएपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न थालेका छन्। 

राष्ट्र बैंकको निर्देशनपछि सीमित शाखाबाट सेवा दिँदै आएका छन् । तर बुधबारबाट अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्न सुरु गरेका छन्। बैंकहरुले जेठ २५ गते आइतबारबाट सबै शाखाबाट सेवा दिने तयारी गरिरहेका छन्।

प्रभु बैंकले सार्वजनिक सूचना जारी गर्दै सबै शाखा सञ्चालन गर्ने घोषणा गरेको छ।  

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सकेसम्म सबै शाखा खोलेको छ। 

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । जुन १ असारबाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो ।

पहिलो चरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् । दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।

तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ भने कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।

चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।

पाँचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।

छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई सिल गर्ने गरि प्रस्ताव तयार भएको छ । समितिले यो प्रस्ताव आइतबार मन्त्रिपरिषदमा लैजानुअघि आज र भोलिपनि विभिन्न क्षेत्रसँगको छलफललाई भने निरन्तरता दिने र थप परिमार्जन आवश्यक परे परिमार्जन गर्ने पनि बताइएको छ ।