Jul Thu 2020 03:14:20
काठमाडौं । तीन कारोबार दिनको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ३२.१० प्रतिशतले बढेको छ ।
९८ दिन पछि खुलेको बजारमा सोमबार कारोबार हुनु अगाडि बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ रहेको थियो । बुधबारसम्म आईपुग्दा प्रतिकित्ता ७८ रुपैयाँले बढेर ४६५ रुपैयाँ पुगेको छ ।
तनहुँ हाइड्रोमा इटालियन ठेकेदार सीएमसीका लागि काउन्टर ग्यारेन्टी बसेका कारण फसेको २ अर्ब रुपैयाँ फिर्ता भएसँगै त्यसको असर सेयर बजारमा देखिएको छ ।
सोमबार प्रतिकित्ता ३८७ रुपैयाँ रहेको सेयर मंगलबार एकाएक ३८ रुपैयाँले बढेर प्रति कित्ता सेयर ४२५ रुपैयाँ रहेको छ । यस्तै मंगलबारको तुलनामा बुधबार पनि इन्भेष्टमेन्ट बैंकको सेयरमा उछाल नै देखिएको छ।
यो दिन मंगलबारको तुलनामा प्रतिकित्ता ४० रुपैयाँका दरले बढेर प्रति कित्ता सेयर ४६५ रुपैयाँ पुगेको छ। बुधबार मात्रै बैंकको सेयर ९.४१ प्रतिशतले बढेको छ ।