लगानीको सुवर्ण अवसर, यी कम्पनीका आईपीओ आउँदै, भर्न छुट्ला है

Jul Tue 2020 07:46:44

2746 views

लगानीको सुवर्ण अवसर, यी कम्पनीका आईपीओ आउँदै, भर्न छुट्ला है

आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन


लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् 

अजोड इन्स्योरेन्सको आईपीओ खुल्दै

एनआईसी एसिया लघुवित्तको पछि साधना लघुवित्तको आईपीओ खुल्यो । यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ ।

कम्पनीले गत बुधवार आह्वान पत्र जारी गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याइएको कुल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागिएको हो ।

छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म बिक्रीमा रहने यस आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन

यसपछि पनि आईपीओ जारी गर्नका लागि कम्पनीहरु पाइपलाइनमै छन् । १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । केही कम्पनीहरुले धेरै पहिले नै आवेदन दिए पनि आवश्यक कागजातहरु पूरा गर्न नसक्दा अनुमति पाएका छैनन् ।

केही कम्पनीले भने चाँडै आईपीओ जारी गर्ने अनुमति पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ७ कात्तिक २०७६ मै निवेदन दिएको भए पनि केही कागजातहरु पूरा नभएकाले बोर्डले अनुमति दिएको छैन ।

विन्धवासिनी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण सेयर जारी गर्न गत माघमा बोर्डसँग अनुमति माग गरेको थियो । यो पनि प्रक्रियामा नै रहेको बोर्डले जनाएको छ ।

यसैगरी पर्यटकीय गन्तव्यको रुपमा विकास भएको चन्द्रागिरी हिल्स पनि १८ लाख ४० हजार ९ सय १० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमतिको पर्खाइमा बसेको छ । चन्द्रागिरीले गत २५ जेठमा आईपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

अन्य ३ वटा बिमा कम्पनीहरुले पनि बोर्डसँग आईपीओ जारी गर्न अनुमति माग गर्दै निवेदन दिइसकेका छन् । रिलायन्स लाइफ कम्पनीले ६३ लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति माग गरेको छ । यस कम्पनीले गत ९ गतेमात्रै बोर्डमा निवेदन दिएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सले ३० कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति कुरेर बसेको छ । यस कम्पनीले गत १४ गते निवेदन दिएको थियो ।

यसैगरी जनरल इन्स्योरेन्स कम्पनीले पनि ३० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमतिको पर्खाइमा छ । यस कम्पनीले गत ५ गते बोर्डमा निवेदन दिएको थियो । यसैगरी अन्य कम्पनीहरु आईपीओ जारी गर्नका लागि पाएपलाइनमा रहेका छन् ।

शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता, इमर्जिङ नेपालले ५ लाख कित्ता, सीईडीबी हाइड्रोपावरले २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता, मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ जारीका लागि विभिन्न समयमा बोर्डमा अनुमति माग्दै निवेदन दिइसकेका छन् ।

-Onlinekhabar.com