मर्जरको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको अन्तिम तयारी यस्तो छ, राष्ट्र बैंकको मौद्रिक नीति कुर्दै

Jul Thu 2020 04:39:41

मर्जरको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको अन्तिम तयारी यस्तो छ, राष्ट्र बैंकको मौद्रिक नीति कुर्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरको अन्तिम तयारीमा जुटेको स्रोतले बताएको छ । 

नेपाल राष्ट्र बैंकले मर्जरको बारे बाणिज्य बैंकहरुलाई पत्राचार नै गर्न लागेपछि ठूला बैंकहरु पनि मर्जरको आन्तरिक गृहकार्यमा जुटेका हुन् । इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि निकै अघिदेखि प्रस्ताव गरेको भएपनि हिमालयन बैंकले बेलायती लगानीकर्ता सीडीसी भित्र्याउन पहल गर्दा केही ढिला भएको थियो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा नकारात्मक असर पारेकोले मर्जरको विकल्प नभएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए । 

सीडीसीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको संस्थापक सेयर किन्न खोजेको थियो । तर, यही प्रसंग चलिरहेको बेलामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण विस्तार भएपछि सीडीसीले सेयर किन्ने चासो नदेखाएको हिमालयन बैंक स्रोतले जानकारी दिएको छ । हिमालयन बैंक हविब बैंकको सेयर सीडीसीले किनेपछि आवश्यक परेमा अन्य बैंकसँग मर्जरमा जाने तयारीमा थियो ।

नेपाल राष्ट्र बैंकले मर्जरमा गएर बैंकको संख्या घटाउन सहयोग गर्न भनेको, सीडीसी आउन केही ढिला हुने देखिएको र कोरोना भाइरस ९कोभिड १९० का कारण अर्थतन्त्रमा मन्दी आएर बैंकले आफू सुरक्षित हुने थप प्रबन्ध गर्नुपर्ने भएकोले राम्रो बैंकसँग मर्जरमा जाने समझदारी बनेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । उनले मर्जरका लागि सबैभन्दा पहिलो रोजाइमा नेपाल इन्भेष्टमेन्ट बैंक नै परेको पनि बताए ।

सीडीसी भित्रने सम्भावना कम देखेपछि हिमालयन बैंक पनि अर्को उपयुक्त बैंक खोजेर मर्जरमा जान हतारिएको छ । मर्जरका लागि इन्भेष्टमेन्ट बैंक नै उपयुक्त हो भन्नेमा हिमालयन बैंक पनि सहमत छ ।

केही दिन अघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका संचालकहरुबीच अनौपचारिक बैठक भएको थियो । स्रोतका अनुसार सो बैठकमा मर्जरका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक नै एक अर्कालाई उपयुक्त भएको भन्दै थप प्रक्रिया अघि बढाउने समझदारी भएको छ ।