लकडाउनपछि बैंकहरुमा तरलता चुलिएको छ । बैंकहरुमा लगानीयोग्य रकम अभाव होइन, अत्यधिक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा १ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ ।
लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट बताउँछन् ।
बैंकहरुमा कर्जा लिन जानेहरुको संख्या अत्यन्तै न्यून छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ११ चैतमा पूर्ण लकडाउन गर्यो । लकडाउनको अवधिभर कर्जा लगानी अत्यन्तै कम भयो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै १ असारदेखि केही सहज बनाएको छ । तर, यस अवधिमा पनि कर्जा लगानी बढ्नुको सट्टा घटेको छ । कर्जा लगानी यसरी सुस्ताउँदा बैंकहरुमा अधिक तरलता भएको हो ।
अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ ।
फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।
अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।
यतिबेलै यसको असर निक्षेपमा पर्न शुरु भइसकेको छ । केही बैंकहरुले निक्षेपको ब्याजदर घटाइसकेका छन् भने केही बैंकहरुले निक्ष्ँेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । तर, कर्जाको ब्याजदरको जति चर्चा हुन्छ, त्यति चर्चा निक्षेपको ब्याजदरले नपाउने हुँदा यसलाई बेवास्ता गरिँदै आएको छ ।