Banking Fraud एक किशोरले SBI बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार, कसैले पत्तो पाएनन्

Jul Sun 2020 05:56:05

2940 views

Banking Fraud एक किशोरले SBI बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार, कसैले पत्तो पाएनन्

भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो ।

तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् ।

 एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोध्दा सो कुराको खुलासा भएको हो । ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा यसबारे सोधखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गए ।

त्यहाँ पुग्दा बैङ्कका कर्मचारी नै चकित भए । कार्यालयको सजावट, भौतिक संरचना लगायत सबै बन्दोबस्त कुनै बैङ्कको जस्तै थियो । नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामान थिए ।

स्टेट बैङ्कको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेका थिए ।

नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैङ्कबाट अवकाश पाएपछि यसरी बैङ्क खोलेको उनले बताएका छन् ।

आफूले ठगीको उद्देश्यले नभई बैङ्क खोल्ने चाहनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।