सिटिजन्स बैक र महालक्ष्मी बैंक मर्जरको कुरा यस्तो, सेयर अनुपात १ः१ मा हुनेमा जोड

Jul Tue 2020 09:53:55

1294 views

सिटिजन्स बैक र महालक्ष्मी बैंक मर्जरको कुरा यस्तो,  सेयर अनुपात १ः१ मा हुनेमा जोड

महालक्ष्मी विकास बैंक लिमीटेड र सिटिजन्स बैंक इन्टरनेशनलबीच बीच  मर्जरका अन्तिम तयारी रहेको बुझिएको छ ।

पछिल्लो समय सिटिजन्स बैंक आफ्नो सञ्जाल तथा प्रभाव रहेको क्षेत्रलाई टार्गेट गरेर विकास बैंक तथा फाइनान्सहरुलाई प्राप्ति गर्ने प्रयासमा छ । यही प्रयास अन्तरगत २ नम्बर प्रदेशमा राम्रो प्रभाव रहेको सहयोगी विकास बैंकलाई हालै मात्र प्राप्ति गरिसकेको छ । 

महालक्ष्मी विकास बैंकका एक संचालकका अनुसार सिटिजन्स इन्टरनेशनल बैंक लिमीटेडले प्राप्तिको प्रस्ताव गरेसँगै दुई बैंकका संचालकहरुबीच धेरैपटक आन्तरिक कुराकानीहरु भइसकेका छन् ।

महालक्ष्मीस्थित स्रोतका अनुसार सिटिजन्स बैंकले १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्तिको प्रस्ताव गरेको छ । महालक्ष्मी बैंकका सीइओ कृष्णराज लामिछानेले हालै राजीनामा दिएकोले बाँकी कर्मचारीको व्यवस्थापनमा समेत सिटिजन्स बैंकलाई कुनै समस्या छैन । यसकारण समेत सिटिजन्स बैंकले महालक्ष्मीलाई पाएमा प्राप्ति गर्ने भन्दै आफ्ना सबै प्रयास केन्द्रीत गरेको स्रोत दाबी गर्छ । 

सिटिजन्सको यो प्रयासमा राष्ट्रबैंकले समेत सहयोग गरिरहेको स्रोत दाबी गर्छ ।  

महालक्ष्मी विकास बैंकको काठमाण्डौमा २४ र काठमाण्डौ बाहिर ७८ वटा शाखा रहेको छ । सिटिजन्स बैंकको शाखा संख्या ११७ वटा रहेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ६२ करोड रहेको छ । रिजर्बमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । 

सिटिजन्सले ७७ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरेको देखिन्छ भने यो अवधिमा ७५ अर्ब बढी कर्जा प्रवाह गरेको छ । 

तेश्रो त्रैमाससम्म सिटिजन्स बैंकको नाफा ४० करोड ८५ लाख रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी रु. १७.११ रहेको छ । 

खराब कर्जाको अनुपात घटाएर ०.९७ प्रतिशतमा सीमित गर्न सफल सिटिजन्स बैंकको रिटेन अर्निङ ४७ करोड ६८ लाख बढी रहेको छ । 

यस्तै तेश्रो त्रैमाससम्म महालक्ष्मी विकास बैंकको चुक्तापूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ३५ अर्ब ४३ करोड बढी निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड बढी कर्जा प्रवाह गरेको छ । 

यो अवधिसम्म महालक्ष्मी बैंकको रिजर्बमा १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकको नाफा ९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने ५ करोड १० लाख मात्र रिटेन अर्निङ रहेको छ । 

तेश्रो त्रैमाससम्म महालक्ष्मीको प्रतिसेयर आम्दानी रु १७.२५ रहेको छ भने निस्क्रिय कर्जाको अनुपात ३.७८ प्रतिशत रहेको छ ।