Jul Fri 2020 08:40:23
1735 views
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने भएको छ ।
सर्किट ब्रेकर सम्बन्धी हाल कायम व्यवस्थामा परिवर्तन गरिने नेप्सेस्थित स्रोतले जनाएको छ ।
हाल विहान १०ः३० बजेदेखि १०ः४५ बजेबीचमा कुनै एक कम्पनीको शेयर मूल्य पाँच प्रतिशतसम्म तलमाथि गरेर किनबेच गर्न सकिने ब्यवस्था रहेको छ । कुनै कम्पनीको शेयर मूल्य पाँच प्रतिशितले बढाएर किनबेच गर्दा नियमित कारोबारका लागि बजार खुल्दा चार प्रतिशतको सर्किट लागेर बजार प्रभावित हुने गरेको छ । यो घटना पछिल्ला दिनहरुमा बढ्न थालेपछि यसमा नेप्से समेत गम्भीर बनेको हो ।
प्रिओपन सेसनमा ५ प्रतिशत मूल्य घटाएर किन्दा नियमित कारोबार सेसनमा बिक्री गर्ने आदेश नै राख्न नमिल्ने वा बिक्रेता नै नआउने अवस्था समेत बनेको भन्दै लगानीकर्ताबाट व्यापक गुनासो आइरहेको छ । यसलाई सम्बोधन गर्न पनि नेप्सेले सर्किट ब्रेकरको हालको व्यवस्थामा परिवर्तन गर्न खोजेको हो ।
हाल सेयर बजारमा नियमित कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशत घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था छ । त्यसपछि खुल्ने बजारमा दोश्रो घण्टाभित्र ५ प्रतिशतले नेप्से घटबढ भएमा दोश्रो सर्किट लागी ४० मिनेट कारोबार स्थगित गर्ने गरिन्छ ।
त्यसपछि सुचारु हुने बजार परिसूचक ६ प्रतिशत घटबढ भएमा सो दिनका बाँकी अवधिको सबै कारोबार स्थगन गर्ने व्यवस्था छ । प्रिओपन सेसनका कारण यो व्यवस्था चाँडो प्रभावित भई बजारमा चाँडो चाँडो सर्किट लगाउनुपर्ने अवस्था बनेपछि यसमा रिभ्यू गर्न खोजिएको हो ।