काठमाडौँ — निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।
शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणको आवतजावत कम हुने भएकाले उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्र सञ्चालन हुने उनले बताए ।
निषेधाज्ञाको समयमा पनि आधारभूत (नगद जम्मा/भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ आदि) निरन्तर राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी उक्त निर्देशन दिएको हो । निषेधाज्ञालगायत विशेष आदेशको पालना गरी बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा निरन्तरता दिन स्वास्थ्य सुरक्षासँग सम्बद्ध मापदण्ड कायमै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा निरन्तर गर्न/गराउन राष्ट्र बैंकले भनेको छ ।