Sep Wed 2020 09:11:15
897 views
नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे नयाँ व्यवस्था लागू गरेको छ ।
कार्यविधि संशोधनपछि अब बैंकहरुले पुनरकर्जाका लागि आवेदन संकलन गर्नेछन् र बैंकहरुले ग्राहकको आवेदन लिएर राष्ट्र बैंकमा बुझाउनेछन् । राष्ट्र बैंकले तिनीहरुको अध्ययन गरी निर्णय लिनेछ ।
पुनरकर्जाका लागि ऋणीले जुन बैंकबाट ऋण लिएको हो, सोही बैंकको सोही शाखामा निवेदन दिनुपर्ने प्रावधान छ । यसका लागि असोज १४ सम्म आवेदन बुझाइसक्नुपर्ने राष्ट्र बैंकले बताएको छ । बैंकहरुले आवश्यक कागजात संलग्न गरी नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसुची १ बमोजिम आवेदन दिनुपर्ने छ ।
लघु, घरेलु साना उद्योगले १५ लाख रुपैयाँसम्म पुनरकर्जा पाउनेछन् । ब्याजदर पनि घटाइएको छ ।
रुग्ण उद्योग, निर्यातजन्य उद्योग, महामारीको असर खेपेका उद्योगहरुले संशोधित कार्यविधिअनुसार राष्ट्र बैंकले १ प्रतिशतमा बैंकलाई रकम उपलब्ध गराउनेछ । बैंकहरुले १ प्रतिशतमा लिएको रकम यी क्षेत्रमा अधिकतम ३ प्रतिशतमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उद्योगहरुका लागि राष्ट्र बैंकले २ प्रतिशतमा यो उपलब्ध गराउने प्रवक्ता भट्ट बताउछन् । यो रकम बैंकले ५ प्रतिशतमा ग्राहकलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा साधारण पुनरकर्जा भनेर नयाँ व्यवस्था पनि गरिएको छ । यो पुनरकर्जा कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रहरुका लागि उपलब्ध हुनेछ । यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशतमा ऋण उपलब्ध गराउँछ भने बैंकहरुले ग्राहकलाई ५ प्रतिशतमा दिनुपर्नेछ । यसैगरी राष्ट्र बैंकले बैंकका एक शाखा बराबर कम्तिमा ५ वटा पुनरकर्जा दिनैपर्ने वाध्यकारी व्यवस्था गरेको छ ।
५ करोड रुपैयाँभन्दा माथि पुनरकर्जाको २० प्रतिशत लगानी गर्नुपर्नेछ । यस्ताको लागि भने ग्राहकको फाइल एकरएक गरेर नै बैंकले पुर्याउनुपर्ने छ । यसको सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।
झण्झटिलो प्रक्रियाका कारण पुनरकर्जाको कम उपयोग भएको बैंक तथा बित्तिय संस्थाहरुले गुनासो समेत गर्दै आएका थिए ।
शर्तहरु ?
(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।
(ग) एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत् कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत् मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।
(घ) पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाअन्तर्गत हुने गरी माग गर्नु पर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने ।
(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेबमोजिम पुगेको हुनु पर्ने ।
अतिप्रभावित क्षेत्रमा परेका उद्योग व्यवसायहरुलाई पुनरकर्जाको प्राथमिकतामा राखिनेछ ।
अ) अति प्रभावित क्षेत्र
१. पर्यटन
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
(ग) साहसिक पर्यटन : स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत ।
(घ) गल्फ कोर्स, पोलो, पोनी टे्रकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार ।
२. हवाई तथा पर्यटकीय यातायात
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा बिचल्लीमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभूत रुपमा सडेर गलेर जाने वस्तु जस्तै : तरकारी, फलफूल, फूल, माछामासु, दाना, दूध तथा दूग्धजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक
आ) मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम, स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रिस्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानुनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिटनेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा संचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय ऊर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय
इ) न्यून प्रभावित क्षेत्र
१. उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना
२. अनलाइन (ई–कमर्स) मा संलग्न व्यवसाय
३. खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय ।