नेपाल राष्ट्र बैंकले उद्योग–व्यवसायहरुलाई उपलब्ध गराउने पुनरकर्जाको प्राप्ति प्रक्रियाबारे नयाँ व्यवस्था लागू गरेको छ ।
कार्यविधि संशोधनपछि अब लघुवित्तहरुले पुनरकर्जाका लागि आवेदन संकलन गर्नेछन् र ग्राहकको आवेदन लिएर राष्ट्र बैंकमा बुझाउनेछन् । राष्ट्र बैंकले तिनीहरुको अध्ययन गरी निर्णय लिनेछ ।
लघुवित्तबाट पनि पुनरकर्जा उपलब्ध गराउने नयाँ व्यवस्था पनि कार्यविधिले गरेको छ । कुल पुनरकर्जाको १० प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत लगानी गर्नुपर्नेछ । यसरी लगानी गर्ने पुनरकर्जा लघुवित्तहरुले सस्तो व्याजदरमा दिनु पर्नेछ ।
अन्य ब्याजदर जसरी यो कर्जा लगानी गर्न लघुवित्तले पाउँदैनन् । सस्तो ब्याजदरमा आफूले पाएपछि लागत खर्च घटाएर सस्तो ब्याजदरमै लघुवित्तले यस्तो सुविधा दिनु पर्नेछ ।
राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकहरुलाई पुनरकर्जा उपलब्ध गराउँछ भने अहिले ५ प्रतिशत मात्रै ब्याज तिर्नु पर्नेछ । आवेदनका लागि राष्ट्र बैंकले केही शर्तहरु तोकेको छ । उक्त शर्तहरु पालना गरेकाले मात्रै कर्जा पाउनेछन् ।
शर्तहरु ?
(क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।
(ग) एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत् कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत् मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।
(घ) पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाअन्तर्गत हुने गरी माग गर्नु पर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने ।
(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेबमोजिम पुगेको हुनु पर्ने ।
अतिप्रभावित क्षेत्रमा परेका उद्योग व्यवसायहरुलाई पुनरकर्जाको प्राथमिकतामा राखिनेछ ।