भारतीय अर्थतन्त्र संकटतर्फ, जीडीपी २३.९ प्रतिशतले घट्यो, भारतीय मुद्राको अवमूल्यन हुन सक्ने

Sep Thu 2020 01:13:01

634 views

भारतीय अर्थतन्त्र संकटतर्फ, जीडीपी २३.९ प्रतिशतले घट्यो, भारतीय मुद्राको अवमूल्यन हुन सक्ने

 नेपालमा यसको प्रभाव

कोरोनाभाइरस महामारीकाबीच भारतीय अर्थतन्त्रमा गम्भीर प्रभाव देखिएसँगै नेपालमा त्यसबाट पर्ने असरबारे चासो र चिन्ता व्यक्त हुन थालेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (एप्रिल देखि जुन महिना) मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३.९ प्रतिशतले घटेको छ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको छ। तर अर्थतन्त्रका ज्ञाताहरूले भने केही क्षेत्रमा प्रभाव पर्ने भए पनि नेपालको अर्थतन्त्र निर्यातमुखी नरहेका कारण धेरै ठूलो समस्या नपर्ने बताएका छन्।

भारतीय बजारमा वस्तु तथा सेवाको मागमा गिरावट आएको अवस्थामा बजार मूल्य स्थिर रहने वा नबढ्ने सम्भावना उच्च रहेकाले पनि नेपाल धेरै चिन्तित हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।

 दोस्रो त्रैमासिकमा झन् धेरै सङ्कुचन हुने सम्भावना रहेको अवस्थामा भारतमा मन्दी आउन सक्ने हुँदा श्रम बजारमा भने केही समय पछि ठूलो समस्या देखिन सक्ने बताइएको छ।

अर्थविद् केशव आचार्य पनि भारतीय अर्थतन्त्रको प्रभाव श्रम बजारमा पर्ने बताउँछन्।  जापान र दक्षिण कोरिया तथा विभिन्न खाडी मुलुकजत्तिकै भारतमा नेपाली श्रमिकहरू रहेको बताउँदै उक्त क्षेत्रमा ठूलो समस्या पर्न सक्ने उनी बताउँछन्।

भारतबाट विदेशी लगानी फिर्ता गएको अवस्थामा भारतीय मुद्रामा चाप पर्ने र त्यस्तो अवस्थामा भारतीय मुद्राको विनिमय दर खस्किने विज्ञहरू बताउँछन्।

बेलायतको अर्थतन्त्रमा पनि करिबकरिब २० प्रतिशत गिरावट देखिएको छ। यस्तो अवस्थामा पनि उनीहरूले थप सहयोगको प्रतिबद्धता जनाइरहेका छन्।

नेपाल जस्तो अल्पविकसित मुलुकमा राजनीतिक अलमलका कारण आयोजनाहरू रोकिने अवस्था रहने सक्ने तर भारतीय अर्थतन्त्र केही कमजोर भएकै कारण आयोजना रोकिने अवस्था नरहेने विज्ञहरु बताउँछन्। 

BBC, नेपाली