काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/०७८ को टार्गेट अभिकर्ताहरुलाई दिन थालेका छन् । कतिपय जीवन बीमा कम्पनीहरुले साउन ५ गते अन्तिम दिन भन्दै बीमा गराए भने केहीले साउन ७ गतेसम्मलाई गत आर्थिक वर्षको टार्गेट तोकेका थिए।
यतिबेला बीमा अभिकर्ता मात्रै नभएर जीवन बीमा कम्पनीका अधिकांश मार्केटिङ टिम व्यवसायमा व्यस्त रहेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७७/०७८ भित्रमा एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर र नेपाल टपर एजेन्सी म्यानेजर लगायतका सुविधाको लागि टार्गेट पूरा गर्ने समयावधी थप गरेरै उक्त टार्गेट पूरा गर्न निर्देशन दिइसकेका छन् ।
त्यसैले कतिपय बीमा अभिकर्ताहरु टार्गेट पुर्याउन व्यस्त छन् भने कतिपय अभिकर्ताहरु टार्गेट पुर्याए पनि पहिलो हुने दौडमा देखिएका छन् ।
उता, कतिपय अभिकर्ताहरुले भने कम्पनीहरुले सूचना चुहाएर पहिलो हुनेलाई जित्न दोस्रोलाई सहयोग गर्ने गरेको आरोप समेत अभिकर्ताले लगाउने गरेका छन् । कतिपयले लकडाउनकै बीचमा पनि एक करोडको अंक पुर्याउन सफल भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस नै हाल्ने गरेका छन् । त्यस्तै कतिपय अभिकर्ताहरुले आफू एमडिआरटीमा पर्न सफल भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।
नेपालको बीमा व्यवसायको प्रवृत्ति हेर्दा अन्तिम अवस्थामा युद्धस्तरमा अघि बढ्ने विगतको इतिहासबाट देखिन्छ । कूल बीमाशुल्क मध्ये करिब ४० प्रतिशत बीमा शुल्क जेठ र असार दुई महिनामा उठ्ने गरेको बीमा विश्लेषकहरु बताउँछन् । त्यस्तै असार महिनामा मात्रै कूल बीमा शुल्कको ३० प्रतिशत हाराहारी बीमा शुल्क उठ्ने गरेको छ ।