नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गनुपर्ने बताएको छ ।
यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका वा हुने घर कर्जा (होम लोन, हाउजिङ लोन) र गाडी कर्जा (अटो लोन, भेहिकल लोन र हायर पर्जेज लोन) लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका/हुने एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुने राष्ट्र बैंकको भनाइ छ ।
तर, ग्राहकले नै बैंकको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पनि पाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसअघि बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने/बढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।