नागरिक लगानी कोषले ल्यायो ५ सय जम्मा गरेर पेन्सन पाइने योजना, पेन्सन योजनामा सहभागी हुन के गर्ने ?

Sep Thu 2020 06:43:04

1293 views

नागरिक लगानी कोषले ल्यायो ५ सय जम्मा गरेर पेन्सन पाइने  योजना, पेन्सन योजनामा सहभागी हुन के गर्ने  ?

काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ ।  यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५  सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ । 

बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पुरा भएपछि पेन्सन  पाउनेछन्  । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ ।  

यदि कसैले बीचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हनेछ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।

पेन्सन योजनामा सहभागी हुन के गर्ने  ?

यस योजनामा सहभागी हुन व्यक्तिको परिचय खुल्ने कुनैपनि डकुमेन्ट अथवा नागरिकताको फोटोकपि कोषमा पेश गर्नुपर्नेछ ।  अफिसमा जोडिएको छ भने उसले अफिसमा पेश गरेको डकुमेन्ट भए हुन्छ र छैन भने नागरिकताको फोटोकपि चाहिन्छ । 

त्यसपछि एउटा केवाइसी फर्म (ग्राहक परिचय खुल्ने फारम) भर्नुपर्छ जुन २ पेजको हुन्छ । यो फाराम कोषको वेभाइट वा कोषको कार्यालयमा गएर लिन सकिनेछ । त्यसपछि ऊ नागरिक लगानी कोषको कार्यालयमा कोषले दिने कार्डका लागि उपस्थित  हुनुपर्दछ । सो कार्डमा नम्बर हुन्छ र सोही नम्बरको आधारमा खाता खोलिन्छ । 

त्यसपछि मासिक भुक्तानी मोवाइल, वालेट लगायत विद्युतीय भुक्तानीबाट गर्न सकिन्छ । कम्तिमा ५ सय रुपैयाँ राख्नैपर्छ । 

कति रकम जम्मा गर्दा  कति पेन्सन  पाइन्छ ?

१५ वर्षमा साँवा व्याज जति जम्मा भएको छ, त्यसलाई १७० ले भाग गर्दा  जति हुन आउँछ सोही अनुसार नमरुन्जेल व्यक्तिले पेन्सन पाउनेछ । पेन्सन नै पाउन १५ वर्षसम्म रकम राख्नैपर्छ । तर नागरिकको उमेरहद  ६० वर्ष तोकिएको छ ।   यदि कसैको ६० वर्ष उमेर पुगिसक्यो तर रकम जम्मा गरेको अवधि १४ वर्षमात्र भयो भने उसले पेन्सन पाउनेछैन । त्यसको साँवा ब्याज जति हुन्छ सोही रकम एकमुष्ट पाउँछ ।  पेन्सन योजनामा जम्मा गरेको रकमको ब्याज अहिले साढे ६ प्रतिशत छ । बजारको अवस्था हेरेर प्रत्येक ६/ ६ महिनामा पुनरावलोक हुन्छ । साउन १ गतेदेखि लागु हुन्छ ।  र, पुसमा अर्धवार्षिक समीक्षा हुन्छ । 

यदि कसैले पाँच सय रुपैयाँ राखेको छ भने उसको १५ वर्षमा साँवा ९० हजार रुपैयाँ  हुन्छ ।  त्यसमा बजारको रेट अनुसार ब्याज दिइनेछ । मानौ ५ सय जम्मा गर्नेको पन्ध्र वर्षमा ३० हजार ब्याज आयो भने उसको साँवा र ब्याज गरेर १ लाख २० हजार रुपैयाँ हुन्छ । यसमा १७० ले भाग गर्दा जति रुपैयाँ आउँछ त्यति पेन्सनको रुपमा पाउँछ  । मानौ मासिक ५ सय रुपैयाँ जम्मा गर्नेको १५ बर्षमा साँवा र ब्याज गरेर १ लाख २० हजार भयो भने उसले मासिक ७ सय ५ रुपैयाँ पेन्सन पाउँछ । जति रकम जम्मा भयो त्यसको सावाँ ब्याजलाई १७० ले भाग गर्दा जति आउँछ सोही रकम मासिक  पेन्सन हुन आउँछ ।