काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले वितरण गरेको लाभांश १० वर्षसम्म शेयरधनीे लिन वेवास्ता गरेमा उक्त लाभांश स्वत बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ । लघुवित्त कम्पनीका निक्षेप कर्ता तथा शेयर धनीले यस्तो रकम समय सीमाभित्र नलिएमा स्वत बैंकिङ विकास कोषमा जाने व्यवस्था गरेकोे हो । लघुवित्त कम्पनीहरुले १० वर्षदेखि कारोबार नभएको बचत खाता हकदाबी नपरेका निक्षेपहरू तथा वितरण नभएको लाभांशको विवरण १० वर्ष समाप्त भएको एक महीना भित्रमा सार्वजानिक सूचना जारी गर्नुपर्नेछ ।
यद्यपि लघु वित्त वित्तीय संस्थाले कोषमा पैसा पठाउनु अघि १० वर्ष समाप्त भएको १ महिना भित्र राष्ट्रिय स्तरको पत्रिकामा भने सूचना प्रकाशित गर्नुपर्ने छ । सूचना प्रकाशित गर्दा समेत त्यस्तो खाता नियमित भए नभएको र निक्षेप रकम भुक्तान नभएमा उक्त रकमलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय कम्पनीलाई जारी गरेको निर्देशन २०७६ संशोधन गर्दै अहिले उक्त व्यवस्था गरेको हो ।