Oct Thu 2020 06:41:18
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले हकप्रदमा नबिकेको करिब ६ लाख कित्ता सेयर लिलामी मार्फत विक्री खुला गरेको छ ।
कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर मध्ये विक्री नभएको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलाम विक्री गर्न लागेको हो।
लिलामी आएको सेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको र २ लाख ५२ हजार ४४९ कित्ता सेयर सर्वसाधारण समूहको रहेको छ।
कम्पनीको सेयर खरिदका लागि (असोज १३ देखि १९ गतेसम्म) गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।