अपि पावरको ४७ प्रतिशत हकप्रद शेयर कात्तिक १४ गतेदेखि, मेरो शेयरमार्फत पनि सहजै भर्न मिल्ने

Oct Fri 2020 09:20:02

1085 views

अपि पावरको ४७ प्रतिशत हकप्रद शेयर कात्तिक १४ गतेदेखि, मेरो शेयरमार्फत पनि सहजै भर्न मिल्ने

काठमाडौं । अपि पावर कम्पनीले ४७ प्रतिशत हकप्रद शेयर कात्तिक १४ गतेदेखि शेयरधनीलाई विक्री खुला गर्ने भएको छ ।  अपिले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट वित्तीय लगानीको सम्झौता भएपश्चात मात्र निष्कासन गर्ने शर्तमा हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । 

स्वीकृति पाएको दुई महिनाभित्र निष्कासन गरिसक्नुपर्ने व्यवस्था बमोजिम नभएपछि अपिले थप विवरण सहित पुनः स्वीकृति बोर्डबाट असोज १८ गते पाएको हो ।

अपिले तेस्रो जलविद्युत आयोजनको रुपमा रहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लाथि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासनमा जोड दिएको हो । हाल कायम १ अर्ब १९ करोड ७ लाख रूपैयाँको आधारमा अपिले १ बराबर शून्य दशमलव ४७ प्रतिशत हकप्रद शेयर जारी गरी अपिले गर्न लागेको हो । यो हकप्रद मंसिर ४ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरेको थियो ।

 बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । अपिको यो हकप्रदलाई इक्रो नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । 

यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै अपि पावर कम्पनीको थापाथली कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, बीरगञ्ज, पोखरा , बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेतका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोकुेलेश्वर, नौंगाड, खलंगा र बैतडीबाट आवेदन दिन सकिनेछ । त्यस्तै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सिडिएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।