मुक्तिनाथ विकास बैंकका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको उछाल आएर पोजेटिभ सर्किट नै लाग्यो।
यो दिन सबैको लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ।
हाइड्रोपावर समूहमा व्यापक गिरावट आएको छ। उच्च मूल्यमा सोझा लगानीकर्तालाई नकारात्मक ईपीएस र नेटवर्थ भएका कम्पनीहरुलाई पनि पम्प गर्दै बढाउने योजनामाथि केही ब्रेक लागेको छ। यद्यपि केही ठूला लगानीकर्ता हाइड्रोपावरबाट निस्किए पनि केही भने बाँकी नै छन्।
पछिल्लो समय हाइड्रोमा अधिक बिक्रीचाप परेका कारण सेयरमूल्यमा गिरावट आएको विश्लेषकहरुको भनाइ छ।
विकास बैंक समूह निकै चम्किँदै हराभरा भएको छ। सोमबार प्रायः सबै विकास बैंकहरुको सेयरमूल्यमा उछाल आएको छ।
पछिल्लो सेयर बजारको ट्रेन्डमा महँगा सेयर र आपूर्ति धेरै भएका सेयरभन्दा सस्ता मूल्यका र अलिक कम आपूर्ति भएका सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। बैंकहरुको अधिक सेयर आपूर्ति हुनु र बीमाको सेयरमूल्य निकै माथि हुँदा त्यसभन्दा अलिक सस्ता सेयरमूल्य भएका कम्पनीहरुमा लगानीकर्ताहरुले पूँजीगत लाभका निम्ति अल्पकालीन कारोबार गर्ने अभ्यास व्यापक बन्दै गइरहेको छ।
विकास बैंक समूहमा सर्वाधिक ७९.१२ अंकको उछाल आएको छ। होटेल्स् समूहमा ६.९४ अंकको वृद्धि भएको यो दिन बैंकिङ समूहमा २.३९ अंक, व्यापार समूहमा २.१६ अंक र लघुवित्त समूहमा ३.९३ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूहमा सबैभन्दा धेरै २८.३७ अंकको गिरावट आएको छ। यो दिन जलविद्युत् समूह ७.१२ अंक, वित्त समूह ११.६६ अंक, निर्जीवन बीमा समूह १२.२१ अंक, उत्पादन तथा प्रशोधन समूह १५.५२ अंक, अन्य समूह १.८३ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँमा कारोबार भएको छ।
यो दिन मुक्तिनाथ विकास बैंकको सर्वाधिक १६ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज कामना सेवा विकास बैंकको ६ करोड ८८ लाख रुपैयाँ, पुनर्बीमा कम्पनीको ५ करोड ३२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४ करोड ५६ लाख रुपैयाँ, अपी पावरको ४ करोड ३६ लाख रुपैयाँ, कुमारी बैंकको ४ करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड २९ लाख रुपैयाँ र ज्योति विकास बैंकको ४ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।