सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

Nov Fri 2020 03:50:37

485 views

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले ७.५ प्रतिशत प्रतिफल पाउने भएका छन् । योगदानकर्ताको वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममध्येबाट गत वर्ष उक्त प्रतिफल दिन सकिने प्रारम्भिक प्रतिवेदनले देखाएको कोषले जनाएको छ । 

गत आवको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहेको भए पनि प्रारम्भिक प्रतिवेदनले योगदानकर्तालाई प्रतिफल दिन सकिने देखिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । 

योगदानकर्ताले कूल योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकमबाट प्रतिफल पाउनेछन् । “वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशत रकममा योगदानकर्तालाई प्रतिफल दिइने हो”, उनले भने, “कोषमा नियमित योगदान गरिरहेका वा योगदान गरेका योगदानकर्ताले प्रतिफल पाउनेछन् ।” 

कोषमा सूचीकृत भएका रोजगारदाताले २० र श्रमिकका तर्फबाट ११ गरी ३१ प्रतिशत मासिकरुपमा जम्मा गर्नुपर्छ । ३१ प्रतिशतमध्येबाट २८.३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्न छुट्याइएको हुन्छ । एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र ०.२७ प्रतिशत रकम आश्रित परिवार सुरक्षा योजनाका लागि छुट्याइँदै आइएको छ । 

सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने नीतिअनुरुप रहेर निर्माण गरेको लगानी कार्यविधि गत बुधबारको मन्त्रिपरिषद्बाट स्वीकृत भएको कोषले जनाएको छ । कार्यविधिअनुरुप तोकिएका क्षेत्रमा सीमाभित्र रहेर लगानी गर्दा कोषले दायित्व बहन गर्न आर्जन गर्नुपर्ने न्यूनतम प्रतिफल प्राप्त हुने तथा योगदानकर्तालाई समेत आकर्षक प्रतिफल दिन सकिने कार्यकारी निर्देशक ज्ञवालीले बताए ।