नेप्सेले २००० विन्दु पार गर्यो, सर्वाधिक कारोबार नेपाल पुर्नबिमा कम्पनीको

Dec Tue 2020 06:31:12

773 views

नेप्सेले २००० विन्दु पार गर्यो, सर्वाधिक कारोबार नेपाल पुर्नबिमा कम्पनीको

काठमाडौं, १६ मंसिर । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २००० विन्दुमा पुगेर रोकिएको छ । २०२२ विन्दुसम्म पुगेको नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको हो । 

त्यस्तै १९७ कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर ७ अर्ब ४० करोड ४१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ९.९७ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । आज यो कम्पनीको शेयर मूल्य १ हजार ५९९ रुपैयाँ कायम भएको छ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको पनि शेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य आज २७६ रुपैयाँ कायम भएको छ ।


सर्वाधिक मूल्यको शेयर खदिर विक्री पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । यो कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४४ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएर धेरै मूल्यको शेयर खरिद विक्री हुने सूचिको दोस्रो स्थानमा छ । यो कम्पनीको शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा हाईड्रोपावर समूह २.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२५ प्रतिशत, अन्य समूह ६.८७ प्रतिशत लघुवित्त समूह ०.०५ प्रतशित र निर्जीवन बीमा समूह १.८ प्रतिशत रहेका छन् । उद्योग समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक ४.४२ प्रतिशतले घटेको छ ।