भारतीय आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्यो, रञ्जन कुमार थापा नेपालको प्रतिनिधि कार्यालयको प्रमुख

Dec Thu 2020 06:04:12

730 views

भारतीय आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्यो, रञ्जन कुमार थापा नेपालको प्रतिनिधि कार्यालयको प्रमुख

काठमाडौं । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । 

बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ । 

प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट गर्नुभएको थियो । 
 
प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरु विभिन्न १५ देशमा पुगेको छ ।

आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अन्तर्राष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख श्रीराम एच आयरले नेपाल र भारतबीच महत्वपूर्ण व्यापार तथा लगानीको सम्बन्ध रहेको र नेपाली बैंकहरुसँगको बलियो सहकार्यसहितको प्रतिनिधि कार्यालय स्थापनाले दुई देशबीच आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए ।