शेयर बजारमा बिहीबार १५ अंकले करेक्सन, ८ अर्बभन्दा बढीको कारोबार

Dec Thu 2020 04:59:53

669 views

शेयर बजारमा बिहीबार १५ अंकले करेक्सन, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं।  लगातार उकालो लागेको शेयर बजार साताको अन्तिम दिन १८ मंसिर, बिहीबार (१५.५७ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै उतारचढाव आएको बजार १५.५७ अंक घटेर २०५५ विन्दुमा रोकिएको हो । तर बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा  बिहीबार  ८ अर्ब २ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

२०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर खरिद विक्री भएको छ । घटेको बजारमा सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य बढेको भन्दै बजारमा विभिन्न किसिमका हल्ला चलेपछि लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेको देखिन्छ । यो कम्पनीको १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य आज १ हजार ७३५ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि अपर तामाकोशी हाईड्रोपावर लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अपर तामाकोशीको शेयर मूल्य ४३१ रुपैयाँ कायम भएको छ भने नेपाल सेवाको शेयर मूल्य ८५५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये हाईड्रोपावर समूह र लघुवित्त समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । हाईड्रोपावर समूहको परिसूचक ०.६ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०.९५ अंकले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको परिसूचक ६.९४ अंकले घटेको छ ।