नेपाल पुनर्बीमा कम्पनीको विकल्पमा नयाँ पुर्नबीमा कम्पनी ल्याउने तयारीमा बीमा कम्पनीहरु, बैकहरु पनि लगानी गर्न तयार

Dec Fri 2020 10:08:52

1045 views

नेपाल पुनर्बीमा कम्पनीको विकल्पमा नयाँ पुर्नबीमा कम्पनी ल्याउने तयारीमा बीमा कम्पनीहरु, बैकहरु पनि लगानी गर्न तयार

काठमाडौं । पुर्नबीमा कम्पनीको विकल्पमा अन्नपूर्ण रिइन्स्योरेन्स नयाँ पुनर्बीमा कम्पनी आउने तयारी भइरहेको को छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनी नयाँ कम्पनी स्थापनाको लागि तयार भएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन र ८ वटा जीवन गरी २५ वटा बीमा कम्पनीको सेयर छ ।

नेपाल पुनर्बीमा कम्पनीमा सरकारको  मात्रै ४३.५५ प्रतिशत सेयर स्वामित्व छ । 

राष्ट्रिय बीमा कम्पनीको ३.८६५ र नेसनल इन्स्योरेन्सको १.३५५ र एनएलजी इन्स्योरेन्स कम्पनीको १.५५५ प्रतिशत सेयर स्वामित्व छ । 

निर्जीवन बीमा कम्पनीहरुको सेयर स्वामित्व २.२५८ र आठवटा जीवन बीमा कम्पनी ९ सूर्या, नेपाल, एलआइसी, गुराँस, एशियन, प्राइम, नेसनल र राष्ट्रिय बीमा संस्थान० हरुको सेयर स्वामित्व समान १.००३ प्रतिशत मात्र छ ।

सरकार एक्लैको ४३.५५ प्रतिशत सेयर भएपछि कम्पनीमा सरकारी हस्तक्षेप बढी भएको अन्य सेयरधनीको बुझाइ छ । कम्पनीको अध्यक्ष तथा संचालक नियुक्तिदेखि प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्ममा सरकारले हस्तक्षेप गर्ने गरेको छ ।

कम्पनीमा सरकारी हस्तक्षेप बढ्दा संचालक समिति तथा व्यवस्थापनमा राजनीतिक कार्यकर्ता आउने र त्यसले कम्पनीलाई व्यवसायिक रुपमा अघि बढ्न समस्या सिर्जना गरिरहेको बीमा कम्पनीहरुको बुझाइ छ ।

प्रस्तावित नयाँ कम्पनीले पनि बीमा कम्पनीहरुलाई कम्तिमा १० करोड र बढीमा १५ करोड रुपैयाँ संस्थापक सेयर हाल्न प्रस्ताव गरेको छ । प्रस्तावित कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुने भनिएको छ । नयाँ कम्पनीमा पनि बीमा कम्पनीहरुले १ देखि १.५ प्रतिशत प्रमोटर सेयर हाल्न लागेका छन्, जुन नेपाल पुनर्बीमा कम्पनीमा भन्दा निर्जीवन बीमा कम्पनीहरुले कम र जीवन बीमा कम्पनीहरुले बढी सेयर पाउन लागेका हुन् ।

 अहिले संचालनमा रहेका ३९ वटा बीमा कम्पनीहरुले नै १ प्रतिशतका दरले प्रमोटर सेयर खरिद गरेभने उनीहरुको सेयर स्वामित्व ३९ प्रतिशत नै हुनेछ । प्रस्तावित कम्पनीको अफर अनुसार बीमा कम्पनीहरुले १.५ प्रतिशत सेयर हालेमा उनीहरुको सेयर हिस्सा ५८ प्रतिशतभन्दा बढी हुनेछ । बीमा कम्पनीहरुकै वहुमत सेयर हुने भएकोले नयाँ कम्पनीप्रति बीमा कम्पनीहरु आकर्षित भएका हुन् ।