कोरोना बीमा शुल्कभन्दा दाबी रकम बढी, साढे ३ अर्ब बढी दाबी भुक्तानी गर्नै बाँकी

Dec Mon 2020 06:34:42

633 views

कोरोना बीमा शुल्कभन्दा दाबी रकम बढी,  साढे ३ अर्ब बढी दाबी भुक्तानी गर्नै बाँकी

काठमाडौं । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी गर्नेको संख्या निकै बढेको छ ।

नेपाल बीमक संघबाट प्राप्त तथ्यांकअनुसार हालसम्म कोरोना बीमाबाट करीब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । तर, रू. १ अर्ब २ करोड ९६ लाख दाबी भुक्तानी भइसकेको संघको भनाइ छ । १० हजार ५६३ जनालाई सो बराबरको दाबी रकम भुक्तानी गरिएको संघले बताएको छ ।


कोरोना बीमा मापदण्डअनुसार रू. १ अर्बसम्मको दाबी भुक्तानी स्वयम् निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले गर्नुपर्ने हुन्छ । त्यसअनुसार हालसम्मको दाबी रकम कम्पनीहरू आफैले गरेको हुन् । अबको रू. १ अर्बसम्मको दाबी भने नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नेछ । त्यसपछिको रू. ५० करोड बीमा कम्पनीहरूको महाविपत्ति कोष र थप रू.१ अर्ब भने बीमा समितिबाट भुक्तानी गरिनेछ । त्यसभन्दा पनि बढी अर्थात् साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेमा सरकारले नै दायित्व वहन गर्नेछ । 

२०७७ भदौ २९ गतेदेखि यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउने छन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू। ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गतेभन्दा अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।