Dec Wed 2020 05:08:44
काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने तयारी शुरु गरेका छन् । दुबै बैंकहरूले बैंकहरूको प्रारम्भिक ड्यू डेलिजेन्स अडिट (डीडीए रिपोर्ट) चित्त बुझाएमा मर्जरमा जाने तयारी गरेका हुन् ।
मर्जरमा जाने तयारी गरिरहेका बैंकमध्ये हिमालय बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँ रहेको छ ।
यी दुबै बैंक मर्ज भएपछि २३ अर्ब ६२ करोड १२ लाख ३६ हजारको नेपाल कै ठूलो बैंक बन्ने भएको छ । यस अघि मर्जरमा गएका जनता बैंक र ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजारमात्रै रहेको छ ।
दुबै बैंकको प्रारम्भिक डीडीए गर्न थालिएको छ । कर्मचारी व्यवस्थापन तथा शेयर आदान प्रदान अनुपात स्वाप रेसियोलाई बैंकहरूले अहिले प्राथमिकतामा नराखेको बैंक स्रोतले बताएको छ।
दुबै बैंकहरूको पारिवारिक सम्बन्ध भएकाले बैंकहरूबीच मतभेद नहुने भएकाले बैंक मर्जर हुँदा अध्यक्षमा विवाद नरहने भएको छ । त्यस्तै दुबै बैंकबीच पारिवारिक सम्बन्धका कारण सीईओका लागि पनि त्यति अप्ठ्यारो पर्दैन । बाँकी कर्मचारी र अन्य विषय भने मिल्न सक्ने अवस्था देखिएकाले दुबै बैंक मर्जरका लागि अगाडि बढेका हुन् । अन्य विषय मर्जर प्रक्रियासँगै विस्तारै मिलाउँदै लैजाने तयारीमा दुबै बैंक रहेका छन् ।