आईपीओमा बुक बिल्डिङ नयाँ विधि : न्युनतम ५० कित्ता शेयर पाउने, बुक बिल्डिङ विधि कसरी लागू हुन्छ ?

Jan Sat 2021 06:29:17

761 views

आईपीओमा बुक बिल्डिङ नयाँ विधि :  न्युनतम ५० कित्ता शेयर पाउने, बुक बिल्डिङ विधि कसरी लागू हुन्छ ?

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुक बिल्डिङ् विधि चालू आर्थिक वर्षको सुरुवातदेखिनै नियामक निकाय नेपाल धितोपत्र बोर्डले लागू लागू गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको बुक बिल्डिङ्घ विधिबाट आईपीओ निष्कासन गर्न सकिने व्यवस्था बमोजिम यो विधि कार्यान्यनका लागि बुक बिल्डिङ्ग निर्देशिका , २०७७ लागू गरेको हो ।

यस विधिले धितोपत्रको प्रारम्भिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य बजारलेनै निर्धारण गर्न तथा मूल्य निर्धारण प्रकृयालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने अपेक्षा पनि बोर्डको छ ।

सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रकृया अपनाउनुको अर्थ प्रिमियम मूल्य सहित शेयर विक्री गर्नु हो । यो विधिमा आईपीओ जारी गर्ने कम्पनीको शेयर सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्तासम्म पाउने व्यवस्था बोर्डले गरेको छ । 

यस विधिबाट शेयर निष्कासन गर्दा सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सार्वजनिक निष्कास गर्नुपर्ने व्यवस्था छ । यो विधि लागू गर्नुपूर्व बोर्डले यस सम्बन्धि निर्देशिका समेत तयार पारेको थियो । उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार बुक बिल्डिङ विधिबाट आईपीओ विक्री गर्ने कम्पनीले विक्री प्रबन्धकको परामर्समा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ । 

कम्पनीले न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव लिनुपर्नेछ । 

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरण पत्र स्वीकृति पश्चात योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत धितोपत्र निष्कासन गर्नुपर्नेछ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाउनेछैन् । बोलकबोलमा कबोल गरेको शतप्रतिशत रकम तोकिएको निष्कासन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्ने या गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ । 

बुक बिल्डिङ विधिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वचालित विद्युतीय बोल कबोल प्रणाली संचालन गर्नुपर्नेछ । नेप्सेले स्वचालित विद्युतीय बोलबोल प्रणाली संचालनमा नल्याएसम्म संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रुपमा विक्री हुदाँ कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था छ ।