खोपले निम्त्याउँदै छ अर्को संकट : कुनै एउटा खोप लगाएको मानिस सो खोप अस्वीकार गर्ने देशमा समेत छिर्न नपाउन सक्छ !

Jan Mon 2021 07:07:47

831 views

खोपले निम्त्याउँदै छ अर्को संकट : कुनै एउटा खोप लगाएको मानिस सो खोप अस्वीकार गर्ने देशमा समेत छिर्न नपाउन सक्छ !

सन् २०२० भन्दा सन् २०२१ फरक होला भन्ने धेरैको अपेक्षा छ ।  फरक यस अर्थमा की अवश्य पनि यो वर्ष कोरोना खोप सबैतिर पुग्नेछ । र, अघिल्लो वर्ष जस्तो अकल्पनीय त्रासदीमा बिताउनु पर्ने छैन । 

तर, नयाँ चिन्ता थपिएको छ । त्यो के भने सन् २०२१ पुर्णरुपमा खोपको राजनीतिमा बित्नेछ । ठुला व्यापारीहरूले अनेकौँ खालका तिगडम अपनाएर मानिसहरूलाई उनीहरूले बनाएका खोप लगाउन बाध्य पार्नेछन् । 

खोप उत्पादक कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धाको मारमा सारा विश्व यसरी रुमलिने छ की मानिसहरूको दिनचर्या सन् २०२० को भन्दा अझ बढी कठिन पनि हुनसक्छ । अन्तर्राष्ट्रिय यात्रा अगाडी अहिले जसरी पीसीआर परीक्षण अनिवार्य गरिएको छ त्यसरी नै खोप लगाएको सर्टिफिकेट नभएको मानिसलाई यात्रा प्रतिबन्ध लगाइन सक्छ । 

यस सन्दर्भमा के समेत अनुमान गरिँदै छ भने कोरोना खोप लगाइएको जनाउ गर्न छुट्टै पासपोर्ट जस्तै केही डकुमेन्ट तयार हुनसक्छ । त्यसैलाई कुनै पनि व्यक्तिको अन्तर्राष्ट्रिय यात्रा तथा भ्रमणहरूको हिस्ट्रि ट्रयाकिङ गर्ने उपकरणको रूपमा अगाडि सारिन सक्छ । यो विषयमा गम्भीर चिन्ता चाहिँ के हो भने अमेरिकी बेलायती र रसियन खोप उत्पादक कम्पनीहरूबिच हुने प्रतिस्पर्धाले विश्वको भू-राजनीतिलाई यसरी गिजोल्ने छ की कुनै एउटा खोप लगाएको मानिस सो खोप अस्वीकार गर्ने देशमा समेत छिर्न नपाउन सक्छ । 

अहिले नै हेर्न हो भने पासपोर्टमा त्यस्तो खालको विशेष शक्ति प्रयाग मै छ । जस्तो की एउटा अमेरिकी पासपोर्टधारी व्यक्तिले विश्वका धेरै देशहरूमा निर्बाध प्रवेश पाउँछ । जब की अर्को कुनै कम शक्तिशाली मुलुकको पासपोर्ट होल्डरले तिनै देशहरूको भ्रमण गर्नु पर्दा अन्तर्वार्ता लगायतका विभिन्न चरण मात्रै पार गर्नु पर्दैन कि ठुलो धनराशि समेत भिसा शुल्कको नाममा खर्चनु पर्ने हुन्छ । 

अबका दिनमा यस्तै व्यवस्था खोपको आधारमा गरिन सक्छ । रसियन स्पुतनिक खोप लगाएको मानिसले प्रवेश पाउने देशको एउटा सूचि हुनेछ भने पश्चिमी राष्ट्रहरूले उत्पादन गरेका फाइजर लगायतका खोप लगाउने मानिसहरू छिर्न पाउने देशको छुट्टै सूचि हुनेछ । 

यदि त्यस्तो भयो भने यो खोपको भू राजनीति र त्यससँग जोडिएको आर्थिक लाभ हानिको विषय अत्यन्त पेचिलो बन्नेछ । आफ्नो खोप स्वीकृत गराउन शक्ति राष्ट्रहरूले अपनाउने विभिन्न हथकण्डाले साना मुलुकहरूबिच आपसी द्वन्द्व सिर्जना गर्न सक्ने अवस्था समेत आउन सक्छ । 

कोरोनाले आक्रान्त पारेको विश्व अर्थतन्त्रलाई पुनर्जागृत गर्न सारा संसारको ध्यान एकीकृत भएर लाग्नुपर्ने अवस्थामा खोपको यो भू-राजनीतिक र आर्थिक प्रभावले उत्पन्न गर्ने विग्रह सारा मानव जातिका लागि नै निकै महँगो साबित हुनेछ । 

News Source
आर्थिकन्यूज
आर्थिकन्यूज