Jan Wed 2021 06:19:08
696 views
सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
पुस २२ गते सिटिजन्स बैंकको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।
सहमतिअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु हुने सिटिजन्स बैंकले जनाएको छ।