काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सहायकदेखि सहायक निर्देशकसम्म ५० जना कर्मचारी खुला प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त खुलाएको हो। जसमा सहायक निर्देशक पदमा कुल ३८ जना र सहायक पदमा १२ जनालाई दरखास्त खुलाइएको छ।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
सहायक निर्देशक पदका लागि त्रिवि वा मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यस्तै लेखा/लेखा परीक्षण समूहको सहायक निर्देशक पदका लागि मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट चार्टर्ड अकाउन्टेन्सी परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ। वाणिज्य कानुनतर्फबाट सहायक निर्देशकका लागि भने त्रिवि वा मान्यताप्राप्त विश्वविद्यालयबाट वाणिज्य कानुनमा स्नामकोत्तर उत्तीर्ण गरेको वा अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर परीक्षण उत्तीर्ण गर्नुका साथै बीएल उत्तीर्ण गरेको हुनुपर्नेछ।
सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १० जोड २ वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ भने कानुनतर्फ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुनमा दस जोड २ उत्तीर्णय वा जुनसुकै विषयमा दस जोड २ उत्तीर्ण गरी कानुन विषयमा न्यूनतम २ शैक्षिकसत्र भएको माथिल्लो तहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।
सहायक निर्देशक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। बैंकका वहालवाला कर्मचारीलाई उमेरको हद लाग्ने छैन।
इच्छुक उम्मेदवारले बैंकको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति पुस २३ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी माघ १ गतेसम्म आवेदन दिन सकिनेछ।