चेक बाउन्स मुद्दाका ३ अभियुक्त पक्राउ, ३ करोड जरिवानासहित जेल चलान

Jan Sun 2021 07:09:48

645 views

चेक बाउन्स मुद्दाका ३ अभियुक्त पक्राउ, ३ करोड जरिवानासहित जेल चलान

काठमाडौं । नविल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक बाउन्स गराउने तीन जनालाई बैकिङ कसुर मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको छ । चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट  कसूरदार ठहरिएका अभियुक्तहरूलाई विभिन्न समयावधिको कैद सजायसँगै २ करोड ९२ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

अदालतले भरतपुर नगरपालिका वडा नं. १४ हनुमाननगर घर भई जिल्ला काठमाडौं कामनपा २६ स्थित रानीबारी अटो प्रा.लि.का संचालक वर्ष ५१ का राम बहादुर अधिकारीलाई ५१ दिन  कैद तथा २ करोड ३२ लाख ६४ हजार जरिवाना हुने ठहर गरेको थियो । अदालतको फैसलापछि फरार रहेका अधिकारीलाई लुकिछिपी बसिरहेको अवस्थामा सीआईबी  कार्यालयबाट खटिएको टोलिले २०७७ माघ ४ गते खैरेनी–८, चितवनबाट पक्राउ गरी आइतबार आज चितवन जिल्ला अदालतमा पेश गरेको छ । 

त्यसरी नै वुना महत र गितादेवी अधिकारीको जाहेरीमा चन्द्रागिरी नगरपालिका वडा नं. २, चिसापानी बस्ने वर्ष ३१ का सुवास थापालाई पनि सीआईबी ब्यूरोले पुल्चोक, चितवनबाट लुकिछिपी बसिरहेको अवस्थामा २०७७ माघ ३ गते फेला पारी पक्राउ गरे फैसला कार्यान्वयनको लागि  चितवन जिल्ला अदालतमा पेश गरेको हो । 

मिना कुमारी अंगाईको जाहेरीले राष्ट्रिय वाणिज्य बैंकको चेक बाउन्स गर्ने विष्णु अंगाईलाई  बैकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनले एक महिना कैद सहित १० लाख रुपैयाँ जरिवाना तोकेको थियो ।