मोबाइल तथा इण्टरनेटबाट दैनिक २० लाखसम्म भुक्तानी गर्न सकिने

Mar Thu 2021 08:22:17

874 views

मोबाइल तथा इण्टरनेटबाट  दैनिक २० लाखसम्म भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इण्टरनेट बैंकिङबाट गरिने भुक्तानीको सीमा बढाएको छ । यसअघिको अधिकतम सीमा संशोधन गर्दै बैंकले कार्यान्वयनका लागि सम्बन्धित संस्थालाई निर्देशन समेत दिएको छ । केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै यस्तो मोबाइल तथा इण्टरनेट बैंकिङ सेवाको माध्यमबाट गरिने भुक्तानीको अधिकतम सीमा निर्धारण गरेको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई २०७७ भदौ ११ गते जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ को अ.प्रा. निर्देशन नं ५÷०७७ को बुँदा नं १ को १.२ मा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो, जस अनुसार अब मोबाइल बैंकिङबाट दैनिक अधिकतम २ लाखसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टतर्फ २ लाख र इन्टरनेट बैंकिङ अकाउण्ट ट्रान्सफरतर्फ पनि २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने उल्लेख छ ।

यसअघि मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म र इन्टरनेट बैकिङ (मर्चेण्ट पेमेन्ट तथा अकाउण्ट ट्रान्सफर)तर्फ १० लाख रुपैयाँसम्म भुक्तानी कारोबार गर्न सकिने व्यवस्था थियो ।

भुक्तानी सम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन गर्ने जिम्मेवारी अनुमतिप्राप्त सम्बन्धित संस्थाहरूको हुने भन्दै केन्द्रीय बैंकले सम्बन्धित संस्थाहरूले जोखिमको स्तरलाई आधार मानी भुक्तानीको आ–आफ्ना सीमा कायम गर्न सक्ने बताएको छ ।