नेपालमा अब कुनै प्रकारको अशान्ति छैन: प्रधानमन्त्री ओली

Mar Wed 2021 09:14:13

732 views

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन: प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए ।

हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताए ।

प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे । छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारे । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए ।