बिग मर्जरको हिमालयन बैक र इन्भेष्टमेन्टको कुरो मिल्यो, बोर्ड र व्यवस्थापनको पनि सहमति

Mar Fri 2021 07:11:24

922 views

बिग मर्जरको हिमालयन बैक र इन्भेष्टमेन्टको कुरो मिल्यो, बोर्ड र व्यवस्थापनको पनि सहमति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ । दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले जानकारी दिए ।

नयाँ बन्ने बैंकको नामले दुबै बैंकको नामको पहिचान कायम राख्नेछ । मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहन सक्ने देखिएको छ । 

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको हैसियत करिब करिब उस्तै भएकोले शेयर स्वाप रेसियो १ बराबर १ नै हुने अनुमान गरिएको छ । तर, यसको निर्णय भने भएको छैन । ‘दुबै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बन्ने छन् भने बैंक अध्यक्ष पृथ्वी वहादुर पाँडे बन्ने तयारी भएको छ । 

मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । यी दुई बैंंक मर्जरमा गएपछि नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । सो नीतिलाई्र अनुसरण गर्दै दुबै बैंकले मर्जर जाने तयारी अघि बढाएका हुन् ।