अपर तामाकोशी: बैशाख दाेस्राे हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने

Apr Wed 2021 07:17:36

1048 views

अपर तामाकोशी: बैशाख दाेस्राे हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने

काठमाडाैं‌ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो ।

पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ०६ बैशाखभित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोश्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने  लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।